१० असार २०८१, सोमबार

गठबन्धनमा सिट बाँडफाँडको आधार तय, मुख्य ३ मापदण्ड अपनाइने


कार्यदलको बैठक

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठकले सिट बाँडफाँडको आधार तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा मुख्य ३ वटा मापदण्ड अपनाएर गठबन्धनमा सिट बाँडफाँडको आधार तय गरिने भएको हो ।

जसअनुसार सिट बाँडफाँड गर्दा २०७४ सालको निर्वाचनको परिणाम, हालै वैशाख महिनामा सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम र संसदमा रहेका सदस्यहरुको उपस्थितिलाई मुख्य आधार बनाइने भएको हो ।

कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ । गठबन्धनमा रहेका शीर्ष नेताहरुसंगको छलफलपछि पुस ३० गते पुन: कार्यदलको बैठक बस्ने भएको छ ।

यसअघि कार्यदलको गत साउन २३ गते बसेको पहिलो बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलहरुबीच तालमेल गर्ने सहमति भइसकेको छ ।

आजको बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्ने लगायत विषयमा छलफल भएको थियो ।

गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !