१० असार २०८१, सोमबार

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक जारी


कार्यदलको बैठक

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल भइरहेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउनेछ ।

यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !