१९ बैशाख २०८१, बुधबार

पूर्वप्रधानमन्त्री खनालले आज प्रधानमन्त्री देउवालाई भेट्दै


शेरबहादुर देउवा र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् ।

सरकारले आसन्न निर्वाचनको मिति घोषणा गरिसकेको परिप्रेक्षमा पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवालाई भेट्नुलाई चासोका साथ हेरिएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेका छन् ।

तर आज पूर्वप्रधानमन्त्री खनालले राजनीतिक विषयबस्तु भन्दा पनि आफ्नो गृह जिल्ला इलामका किसानको समस्याको सम्वन्धमा प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गर्न बिहान साढे ९ बजे बालुवाटारमा भेट गर्न लागेका हुन् ।

इलाम जिल्लामा उत्पादन भएको चिया बिक्रीमा समस्या देखिएपछि खनालले प्रधानमन्त्री देउवालाई आज भेट्ने भएका हुन् । इलामका चिया व्यवसायीसहित खनालले प्रधानमन्त्री देउवालाई भेटेर चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गर्ने खनालको सचिवालय स्रोतले जनाएको छ ।

साथै प्रधानमन्त्री देउवासँग खनालले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने पनि बुझिएको छ । काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धन बैठकमा सिट बाँडफाँडको प्रस्ताव गर्ने निर्णय गरेपछि तालमेलमा समस्या उत्पन्न हुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !