१२ पुस २०८१, शुक्रबार

ओलीको धार्मिक आस्था : पशुपतिनाथमा हुने आरतीमा सहभागी


ओली पशुपतिमा आरतीमा

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा ओली पशुपतिनाथ पुगेका थिए ।

पशुपति परिसरस्थित वाग्मती किनारामा आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा हुने विशेष सन्ध्याकालीन आरतीमा ओली सोमबार साँझ प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन् । आज त्यहाँ पाँचजना पण्डितले विशेष आरती गरेका छन् ।

यस्तो विशेष आरती हरितालिका तीज, महाशिवरात्रिलगायतका विशेष अवसरमा मात्र हुने गरेको छ । वाग्मती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुँदै आएको छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन् ।

कम्युनिष्ट पार्टीको अध्यक्ष भएर पनि ओलीको धार्मिक आस्था भने पुरानै हो । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा हुनै लाग्दा ओलीको पशुपति क्षेत्रमा हुने आरतीमा सहभागी हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

कम्युनिष्ट भएर आफ्नो सनातन धार्मिक मान्यता अनुशरण गरेको भनेर उनका आलोचकले समय-समयमा ओलीलाई कटाक्ष पनि गर्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री भएको बेला पनि पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयमा विवाद भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !