काठमाडौँ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।
आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनौट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा उक्त प्रस्ताव दर्ता भएको हो । आज सोमबार १२ जना महिला सांसदले प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य अमृता थापामगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रङ्गमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी, रेणुका गुरुङ र प्रमिला राई समर्थक छन् ।
संघीय संसदको प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।