७ बैशाख २०८१, शुक्रबार

महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेले आज काठमाडौँमा ‘विशाल’ प्रदर्शन गर्दै


एमाले प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षाी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गर्दै छ । एमालेका नेता-कार्यकर्ताहरू आज दिउँसो २ बजे काठमाडौँको वसन्तपुरबाट प्रदर्शन सुरु गर्ने भएका हुन् ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् । एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा प्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै एमालेले विरोध प्रर्दशन गर्ने भएको हो । सरकारले महँगीलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागेको जनाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध आज साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् । राजधानीको वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !