११ पुस २०८१, बिहीबार

रवीन्द्रले हृदयेन्द्रको बारेमा लेखे- म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु


रवीन्द्र मिश्र र हृदयेन्द्र शाह

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती एवं पारस शाह र हिमानी शाहका पुत्र हृदयेन्द्र शाहलाई जन्मदिन शुभकामना दिँदै एक दिन राजाको रुपमा आफूले देख्न चाहेको बताएका छन् ।

हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना !’

उनले आफ्नो २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले नेपाल ढिलो-चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै संकटका बेला मात्र सदुपयोग गर्ने उद्धेश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ भन्ने अवस्थामा देश पुग्ने आफूले निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।

मिश्रले दोहोर्याएर पुन: लेखेका छन्, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

उनले संसदले बाँधेको भनेको कस्तो ? भन्ने कुरालाई थप प्रष्ट पार्न एउटा सानो उदाहरण पेश गरेका छन् । जस अनुसार सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै नमानेपछि सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो र संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गराएको दृष्टान्त उनले स्मरण गराएका गरेका छन् । उनले विश्वमा त्यस्ता उदाहरण अरू पनि भएकोले आफ्नो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको जानकारी दिएका छन् ।

मिश्रले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा आपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आफ्नो गिरेको राजनीतिक हैसियतलाई जिवित राख्न मिश्र सामाजिक संजालमा बेला-बेलामा यस्ता पोष्ट गर्ने गर्छन् ।

मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तै सधैं चर्चामा रहिरहन चाहने बहुत महत्वाकाँक्षी व्यक्तिका रुपमा चिनिदैं आएका छन् । तर प्रचण्ड भने आफू चर्चामा रहिरहन चाहनुको साथै राष्ट्रिय राजनीतिको केन्द्रमा पनि टिक्न जस्तोसुकै हत्कण्डा अपनाउन तयार हुन्छन् तर मिश्रले आफ्नो पार्टीले स्थानीय निर्वाचनमा सोचेअनुसारको नतिजा नल्याएकोमा राजीनामा दिएर राजनीतिमा हुनुपर्ने उच्च नैतिकता देखाएका छन् ।

यद्यपि मिश्रको महत्वाकाँक्षी भने एक पटक जसरी पनि देशको प्रधानमन्त्री बन्ने देखिन्छ । उनी भविष्यमा आजका राजनीतिक दलका नेताहरुले यस्तै तरिकाले गैरजिम्मेवार र असफल हुँदै गएर जनता वाक्कदिक्क भई देशमा पुन: राजतन्त्र आएमा पूर्वराजा ज्ञानेन्द्रसंग राम्रो सम्वन्ध कायम राखेर प्रधानमन्त्री बन्न च्याखे दाऊ थापिरहेका छन् ।

यस्तो उनले फेसबुकमा लेखेको स्टाट्स जस्ताको तस्तै

२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र
र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना !

२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।

म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!

संसदले बाँधेको भनेको कस्तो?

एउटा सानो उदाहरण: सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन: गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !