१२ असार २०८१, बुधबार

अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर, फरेन्सिक विज्ञसँग परामर्श गर्ने


अर्थमन्त्री जनार्दन शर्मा छानबिन विशेष समिति

काठमाडौँ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।

सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो ।

ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ-जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन । रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने भएको छ ।

प्रयोगशालाबाट प्राप्त सीसीटीभी भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । १४ गते रातिको फुटेज भेटिएतापनि उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिए ।

संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको हो । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !