काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया शुरु भएको छ । उपसभामुख पदका लागि पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल र नेकपा एमालेको तर्फबाट विद्या भट्टराईको प्रस्ताव दर्ता भएको छ ।
काँग्रेस सांसद भुसालको उम्मेदवारीमा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरीको समर्थक रहेकी छन् ।
यस्तै एमाले सांसद भट्टराईको उम्मेदवारीमा एमालेको संसदीय दलकी सचेतक शान्ता चौधरी प्रस्तावक र एमालेकै सांसद कृष्णभक्त पोखरेल समर्थक रहेका छन् । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी भुसालले उपसभामुखमा जित हुने लगभग पक्का जस्तै छ ।