७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनको लागि आज मनोनयनपत्र दर्ता


संसद

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । मनोनयनपत्र दर्ताका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकेका छन् ।

आज असार ३० गते बिहीबार प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ । आजै दिन अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ ।

भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !