७ बैशाख २०८१, शुक्रबार

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा बाबुराम भट्टराई


डा बाबुराम भट्टराई

भक्तपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरी आज सञ्चालन समेत गरेका छन् ।

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उहाँले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकीर ती बुँदाहरुमा गरेका छन् ।

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा. भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन् ।

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन् । यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !