१२ श्रावण २०८१, शनिबार

अन्तत: राजीनामा दिए अर्थमन्त्री जनार्दन शर्माले


जनार्दन शर्मा

काठमाडौँ । अन्तत: अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफूमाथि छानबिन गर्ने विशेष संसदीय समिति गठन भएकोले सोलाई सहयोग गर्न उनले राजीनामा दिएको स्पष्ट पारेका छन् । राजीनामा घोषणा गर्नुअघि उनले बिगतमा अर्थमन्त्रीमाथि छानबिन समिति गठन हुँदा राजीनामा नदिएको दृष्टान्त अप्रत्यक्ष रुपमा राखेपनि नाम भने उल्लेख गरेनन् ।

शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । शर्मामाथि छानबिनका लागि ११ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमति भएको हो ।

प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् । उक्त संसदीय विशेष छानविन समितिमा एमालेका ४ जना, नेपाली काँग्रेस र माओवादी केन्द्रबाट २/२ जना र एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ जना सदस्यीय रहने छन् ।

जसअनुसार उक्त संसदीय विशेष समितिमा एमालेको तर्फबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला बिक रहेकी छन् भने काँग्रेसको तर्फबाट पुष्पा भुसाल र सीताराम महतो रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट देव गुरुङ र शक्तिबहादुर बस्नेत रहेका छन् ।

यसका साथै उक्त संसदीय विशेष समितिमा एकीकृत समाजवादीको तर्फबाट सरला कुमारी यादव, जसपाको तर्फबाट सुरेन्द्र प्रसाद यादव र लोसपाको तर्फबाट लक्ष्ममणलाल कर्ण रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । गत जेष्ठ १४ गते संसदमा बजेट प्रस्तुत हुनु एकदिन अघि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भनेर मन्त्री शर्माले राजीनामा दिनुपर्ने भनेर संसद र सडकमा चर्को आवज उठेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !