२१ बैशाख २०८१, शुक्रबार

अन्तत: संसदमा विचाराधीन नागरिकता विधेयक देउवा सरकारले लियो फिर्ता


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । अन्तत: प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए ।

सो विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । उक्त विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलपछि २०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश गरिएको थियो ।

चार वर्ष अघि संसदमा लगेर पारित हुन नसकेको विधेयक सरकारले फिर्ता लिन लागेको हो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ । उक्त विधेयकमा रहेका बिबादित विषय झिकेर फेरि प्रतिनिधिसभामा पेश गर्ने देउवा सरकारको तयारी रहेको छ ।

यद्यपि नागरिकता विधेयक संसदबाट फिर्ता लिएपनि बाबु र आमाको नागरिकता भएकाहरुलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसदमा जाने भएको छ । तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।

लामो समयदेखि छलफलमा रहेको नागरिकता विधेयक संसद्बाट फिर्ता लिएपनि सरकारले अध्यादेश ल्याउनका लागि संसद्मा रहेको उक्त विधेयक फिर्ता लिएको हुनसक्ने आंकलन पनि गरिएको छ ।

नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् । राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !