१४ आश्विन २०८१, सोमबार

जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्रीको नाम पनि सिफारिस


इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्र सिंह, रेणु यादव, महिन्द्र राय यादव र राम सहाय यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले शेरबहादुर देउवा सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेको हो ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको छ । यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।

जसपाले तीनजना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् ।

यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ । कृषि मन्त्रीको रुपमा सिफारिस भएका सिंह भने राष्ट्रिय सभा सदस्य हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले हिजो आइतबार साँझ प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको बुझिएको छ ।

अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीको नाम बुझाएतापनि शपथका लागि भने अझसम्म जानकारी गराइएको छैन । तथापि नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि कहिले हुने भन्ने अझसम्म निश्चित भईसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !