१२ पुस २०८१, शुक्रबार

मन्त्रालयबाट छोड्दै प्रेम आलेले भने- आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु


प्रेम आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूले गरेको कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ९० अंक दिएको बताएका हुन् ।

उनले आफू मन्त्रीको रुपमा ९ महिना अर्थात् २६३ दिन काम गरेको बताउदै आफूले गरेको कामलाई आफैंलाई स्व-मूल्यांकन गर्दा ९० प्रतिशत सन्तुष्ट भएको दावी गरेका हुन् । यद्यपि बाँकी १० प्रतिशत जनताले मूल्यांकन गर्नुपर्ने उनले बताए । उनले भने, “म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।”

उनले आफू मन्त्री भएपछि धेरै सुधारका कामहरु गरेको र मान्छेहरुले पनि एक्सन मन्त्रीको उपनाम जनताले दिएको पनि बताए । जनताले दिएको सो उपमाले आफू उत्साहित भएर काम गर्ने गरेको उनले अनुभव सुनाए ।

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले जानकारी दिए । यसैगरी विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको मन्त्री आलेले दाबी गरे ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिंदै उनले थप भने, “मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।” गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते शुक्रबार मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए ।

मन्त्री आलेले नेपालमा पहिलो पटक पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराइएको बताए । उनले लुम्बिनीलाई प्राकृतिक वनका रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातिका ४० हजार वृक्षरोपण कार्य सम्पन्न गरेको जानकारी दिए ।

यसैगरी पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्तामा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङ्गरोगन सरसफाइ गरिएको र अन्य वर्षको तुलनामा गत वर्षको शिवरात्रि भव्य र सभ्य रुपमा सफल भएको मन्त्री आलेले उल्लेख गरे । नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले उक्त पत्रकार सम्मेलनमा जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !