२३ भाद्र २०८१, आइतबार

एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट पार्दै सरकारले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा


कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताबाट नेपाल अलग रहेको प्रष्ट पार्दै सरकारले अमेरिकालाई पत्र लेख्नुपर्ने माग गरेका छन् ।

सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा सरकारले अमेरिकी सरकारलाई औपचारिक रूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

अध्यक्ष थापाले मुलुकमा राजनीतिक दल र दलका नेता राष्ट्रियता बलियो बनाउने विषयमा जिम्मेवार हुन नसक्दा अहिले देशमा विकृति र विसङ्गति बढेको बताए ।

उनले राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने बताएका छन् । आफू फरक दृष्टिकोण बोकेर जनताको माझ गएकाले पार्टीलाई बलियो बनाउन जनताले साथ दिने बताए ।

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित रु एक लाखसहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !