२२ भाद्र २०८१, शनिबार

राष्ट्रियसभा बैठक : ‘बजेटको ठीक-बेठीक छुट्याउन सक्नुपर्छ’


राष्ट्रियसभा बैठक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले पूर्वाग्रहको संस्कारबाट मुक्त भएर सत्यपरक ढङ्गबाट ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“सरकारको दस्तावेजमा सिद्धान्त, नीति तथा कार्यक्रम र बजेटबीच अन्तरसम्बन्ध रहेको छ । यी पक्षलाई एकीकृतरुपमा तयार गरिएको छ । बजेटमा विदेशी लगानी आकर्षित गर्ने, निजी क्षेत्रलाई विकासको इञ्जिनका रुपमा परिभाषित गर्ने तथा अनुसन्धानलाई जोड दिइएको छ ।”

नेकपा (एकीकृत समाजवादी) का सांसद डा. बेदुराम भुसालले गठबन्धन सरकारको पहिलो बजेट विगतका केही वर्षका बजेटभन्दा राम्रो रहेकोे विभिन्न आधारले पुष्टि गरेको उल्लेख गरे । उनले भने, “बजेटमा कृषिको रुपान्तरण, सहकारी, निजी र सरकारी क्षेत्रमार्फत आर्थिक रुपान्तरण गर्ने कुरा उल्लेख छ । ”

नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी बेल्वासेले स्थिरता, उद्यमशीलता, समावेशी विकास निर्माण गर्ने नारा उपयुक्त भएको बताए । उनले भने, “कृषिमा आत्मनिर्भर बनाउँदै जाने तथा सिँचाइ, मल, बीउबिजनलाई सम्बोधन गर्नु सकारात्मक हो । बजेट लघु, घरेलु र ठूला उद्योगलाई प्रोत्साहन गर्ने गरी आएको छ । बजेटमाथि आलोचनाका लागि आलोचना उपयुक्त हुँदैन ।”

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले आगामी वर्ष निर्वाचनको वर्ष र आर्थिक सङ्कटको जोखिम रहेकाले सरकारले ठूलाठूला कुरा राख्न नहुने बताए ।

उनले भने, “सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाउँदै जाँदा नागरिकमा छिट्टै बुढ्यौलीमा गइयो कि भन्ने चिन्ता उत्पन्न गर्छ ।” सरकारले बजेटमार्फत यसपटक बृद्धभत्ता ६८ वर्षमा नै उपलब्ध गराउने जनाएको छ ।

छलफलमा सांसदहरु प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, सुमित्रा विसी, नरबहादुर विष्ट, रामचन्द्र राई, जगप्रसाद शर्मा, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, वीना पोखरेल र नारायणदत्त मिश्रलगायतले भाग लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !