१२ असार २०८१, बुधबार

धनगढी पुगेर देउवाले भने- एमालेले जिते प्रदेश र स्थानीय तह पनि भंग हुन सक्छ


शेरबहादुर देउवा धनगढीमा

धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव जितेमा प्रदेश र स्थानीय तह पनि भंग हुन सक्ने आरोप लगाएका छन् ।

सत्तारुढ गठबन्धनले आज सोमबार धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले एमाले चुनावमा विजयी भएमा प्रतिनिधिसभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने दावी गरेका हुन् ।

देउवाले स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने भन्दै एमालले जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने सक्ने संकेत गरेका हुन् ।

उनले अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुन:स्थापना गरेको स्मरण गरेका हुन् । देउवाले एमालेमा ओलीले सबैलाई थर्काएर राखेकोले एमालेमा ओलीभन्दा अर्को नेता नभएको बताए ।

देउवाले अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको भन्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह समेत गरे ।

उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिए ।

सुदूरपश्चिमकै भएका कारण आफू प्रधानमन्त्री भएको देउवाको भनाइ थियो । उनले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा प्राथमिकता दिएर काम गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !