१३ बैशाख २०८१, बिहिबार

म्याग्दीमा मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार


मतदातालाई मतदान गर्न सिकाउँदै

गलेश्वर । वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् ।

निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन् ।

मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन् ।

बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन छ ।

चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताए । “अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उनले भने ।

मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली (सुविन)ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन् । मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताए ।

नेपाली कांग्रेस म्याग्दीले उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताए । उनले भने, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ ।”

धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छन् । मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उनको भनाइ छ ।

त्यसैगरी बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त छन् । यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् । मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !