भरतपुर । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनवाट भरतपुर महानगरपालिकामा साझा उम्मेदवार बनेकी रेनु दाहाललाई कुनै पनि शंका नगरी काँग्रेसका नेता-कार्यकर्ताले भोट दिएर जिताउन आग्रह गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले रेनुले भरतपुरमा धेरै उल्लेखनीय विकास निर्माणको काम गरेकोले कुनै शंका नगरी काँग्रेसले भोट दिएर जिताउन आग्रह गरेका हुन् ।
देउवाले भरतपुरमा रेनुले जितिसकेको समेत दावी गरे । देउवाले रेनुलाई जिताएपछि गठबन्धन बलियो हुने र यसमा कांग्रेसका नेता-कार्यकर्ताले कुनै बखेडा झिक्न नहुने बताए ।
रेनुको प्रशंशा गर्दै देउवाले बेरुजु नभएको महानगर भरतपुरको मेयर भएकोले बेरुजु पुरै फछर्योट भएको बताए । उनले भरतपुरका हरेक गल्ली कालोपत्रे भएको, स्मार्ट सिटी बनाउने घोषणा गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रयास समेत गरिरहेको भनेर रेनुको प्रशंशा गरे ।
देउवाले भरतपुरमा रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य समेत रहेको बताए । देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने सचेत गराए ।
यस्तै सभापति देउवाले कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा रहेको दावी समेत गरेका छन् । देउवाले कांग्रेसको महाधिवेशनमा आफूले ८२ प्रतिशत मत पाएर काँग्रेस सभापतिमा विजयी भएकोले गठबन्धनको अनुमोदन गरेको जिकिर समेत गरे ।