१० असार २०८१, सोमबार

भरतपुरमा आज सत्ता गठबन्धनको संयुक्त सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा संयुक्त सभा हुँदै छ । भरतपुरमा आज हुन लागेको संयुक्त सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा आज संयुक्त सभा गर्न लागेको हो । आज हुन लागेको सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उक्त कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरू पनि सहभागी हुने भएका छन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रचण्ड पुत्री माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । भरतपुर महानगरपालिकामा मुख्य रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच जुँगाको लडाई भएको छ ।

प्रचण्डसामू भरतपुरको मेयर पदमा उम्मेदवार बनेकी आफ्नी पुत्री रेनुलाई जसरी पनि जिताउनु पर्ने बाध्यता रहेको छ भने ओली पनि रेनुलाई हराएर एमालेवाट मेयरको उम्मेदवार बनेका सुवेदीलाई जिताएर प्रचण्डको साख गिराउन चाहान्छन् ।

यस्तै आगामी संघीय निर्वाचनमा प्रचण्ड उठ्ने क्षेत्र चितवनको उक्त भरतपुर पनि भएकोले ओलीको तुलनामा प्रचण्डले आफ्नो शक्ति कायम राखिरहन भरतपुर जित्नुपर्ने थप दवाव ओलीको तुलनामा प्रचण्डलाई छ ।

यसरी भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएकोले दुवैले चुनाव जित्नुपर्ने बाध्यता पनि रहेको छ । तर स्थानीय निर्वाचनमा कसले भरतपुरको मेयरमा बाजी मार्ला भन्ने विशेष चासोको विषयमा चुनाव भएर परिणाम नआएसम्म कुर्नुको बिकल्प छैन ।

स्थानीय निर्वाचनमा तालमेल गरेको सत्ता गठबन्धन देशभर एमालेलाई पत्तासाफ गर्ने रणनीतिमा रहेको छ भने एमाले अध्यक्ष ओली एक्लै लडेर सत्ता गठबन्धनलाई परास्त गर्ने रणनीतिमा छन् ।

स्थानीय निर्वाचनमा विजय हुन गठबन्धनको तुलनामा ओलीलाई त्यति सहज भने छैन । तर जति बाहिर बडो दृढताका साथ गठबन्धनलाई हराउने अभिव्यक्ति दिदै आएका ओलीको लागि यो स्थानीय निर्वाचन फलामको चिउरा झैँ भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !