१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री देउवाविरुद्ध कारबाहीको माग गर्दै आयोगमा उजुरी दिने सुनिता को हुन् ?


शेरबहादुर देउवा र सुनिता अधिकारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध कारबाहीको आयोगमा उजुरी परेको हो ।

प्रधानमन्त्री देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै आयोगमा उजुरी परेको हो । अधिवक्ता सुनिता अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले प्रधानमन्त्री देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् ।

भोलि बिहीबार चितवनको भरतपुरमा हुन लागेको आमसभालाई लिएर प्रधानमन्त्री देउवाविरुद्ध उजुरी दर्ता भएको हो । पाँच दलीय सत्ता गठबन्धनले भरतपुरमा भोलि गर्ने संयुक्त सभालाई प्रधानमन्त्री देउवा लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको छ ।

यद्यपि नेपाली कांग्रेस चितवनले पार्टी सभापतिकको हैसियतमा प्रधानमन्त्री देउवा चितवन आउन लागेको बताएको छ । तर प्रधानमन्त्री देउवाले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचार-प्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री देउवाविरुद्ध कारबाहीको माग गर्दै आयोगमा उजुरी दिने सुनिता को हुन् ? भन्ने चासो बढेको छ । अधिवक्ता अधिकारीको फेसबुक प्रोफाइल हेर्दा उनी नेकपा एमाले निकट भएको प्रष्ट देख्न सकिन्छ ।

उनले हिजो मात्र पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजवाट एमालेको संकल्प भन्ने पोष्ट आफ्नो फेसबुकमा सेयर गरेकी छन् । यस्तै उनको फेसबुक एमालेका सम्वन्धित समाचारहरु समेत सेयर गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !