११ श्रावण २०८१, शुक्रबार

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार


मतदानको व्यवस्था

तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी थिइन् ।

यसैगरी व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट अञ्जना थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी परेको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट सुशीला नेपालले उम्मेदवारी दर्ता गराएकी छिन्।

काँग्रेसले सत्तारुढ दलसँग तीन स्थानीय तहमा गठबन्धन गर्दा उक्त स्थानीय तहको प्रमुख÷उपप्रमुखमा महिलाले नेतृत्व गर्ने अवसर गुमाएका छन् । काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उम्मेदवारी परेको छ । काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उम्मेदवारी परेको छ ।

काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उम्मेदवारी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !