१९ असार २०८१, बुधबार

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक छ : प्रवक्ता महत


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उनले भने, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे । एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

उनले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गरे ।

उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत सङ्कल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताए ।

कांग्रेसले राज्य सञ्चालनको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा. महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पुर्याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताए ।

कांग्रेस सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमितिका संयोजक डीबी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसले जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्ने, संविधान बनाउने, निर्वाचन गर्ने र आर्थिक–सामाजिक विकासका लागि नीतिगत परिवर्तन र सोअनुरूप कार्यक्रम ल्याएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !