काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकी सिर्जना सिंहले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काँग्रेसकी सिंहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले आज बिहान काँग्रेसकी सिंहलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सिंह काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । उनले आजै दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन राष्ट्रियसभा गृह पुगेकी थिइन् ।
आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।