१२ असार २०८१, बुधबार

चुनावी तालमेलबाट कांग्रेसलाई घाटा नहुने प्रवक्ता महतको जिकिर


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट कांग्रेसलाई घाटा नहुने जिकिर गरेका छन् ।

काँग्रेस प्रचारप्रसार समितिले आइतबार प्रेस युनियनका पत्रकारसँग गरेको जुम मिटिङमा प्रवक्ता महतले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलबाट सबैलाई फाइदा हुने बताएका हुन् ।

प्रवक्ता महतले राष्ट्रिय आवश्यकताकै आधारमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन लागेको भन्दै तालमेल गर्दा लेनदेन हुनु स्वभाविक भएको समेत बताए । उनले गठबन्धनका कारण कांग्रेसलाई घाटा नहुने पनि दाबी गरेका हुन् ।

उनले नेपाली कांग्रेसले महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रबाट गर्ने भएको पनि बताए । महतले स्थानीय आवश्यकताअनुसार महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्ने स्पष्ट पारेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गफ धेरै गर्ने गरेको भन्दै आफूहरू काम गरेर देखाउने समेत दावी गरे । कम्युनिष्टले कामै नगरेर प्रचार गर्ने गरेको भन्दै काग्रेसले काम गर्ने उनको भनाइ रहेको छ ।

युनियनमा आवद्ध पत्रकारलाई कांग्रेसको राम्रो कुरा प्रचार गर्न उनले आग्रह गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार आवश्यक भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !