१२ वैशाख, काठमाण्डौ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषवाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्दै आगामी वर्षमा भूकम्पवाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका छन् ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्ने बताए ।
मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए । पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गरे ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए ।