![गोविन्द बन्दी सपथ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/Govinda-Bandi-Sapatha_Oath.jpg?fit=1319%2C879&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज बिहीबार अपरान्ह आयोजित समारोहमा गोविन्द बन्दीका रूपमा परिचित नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई आजै कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा बन्दीलाई कानूनमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । गैर सांसद बन्दी मन्त्री भएको ६ महिनाभित्र सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका तत्कालिन केन्द्रीय सदस्य समेत रहेका गैर सांसद बन्दीलाई मन्त्री बनाएका हुन् । बिगतमा असार २८ को सर्वोच्च अदालतको परमादेश जारी गराउन महत्वपूर्ण भूमिका खेलेका संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका अधिवक्ता बन्दीलाई प्रधानमन्त्री देउवाले मन्त्री पद उपहार दिएका हुन् ।
बन्दीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गर्न कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बन्दीलाई कानून मन्त्रालयको जिम्मेवारी दिएपछि वर्तमान कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयजी जिम्मेवारी दिएका छन् ।