१२ असार २०८१, बुधबार

गठबन्धनको बैठक शुरु : चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुँदै


सत्ता गठबन्धन बैठक

काठमाडौं । वर्तमान सत्ता गठबन्धनको बैठक शुरु भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बारेमा र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण बारेमा छलफल गर्न केही समयअघि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक भागबन्डाका लागि सत्ता गठबन्धनका दलहरूले कुन-कुन ठाउँमा कसरी चुनावी तालमेल गर्ने भन्ने बारेमा रणनीति बनाउने प्रवल सम्भावना रहेको छ ।

भारत भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धन शुरु भएको हो । भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल गर्न तथा गठबन्धनको विश्वास आफूसँग रहेको सन्देश लिएर भारत भ्रमणमा जान उनले बैठक बोलाएका हुन् ।

स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पक्कड दर्बिलो भएको ठाउँमा गठबन्धन गरेर एमालेलाई हराउने रणनीतिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् भने यता एमाले गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिन लागेको छ ।

आमागी स्थानीय तहको चुनाव भनेको काँग्रेस र एमालेको भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेवाट टुक्रिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीचको अस्तित्वको संघर्षको लागि जुँगाको लडाई हुने देखिएको छ ।

प्रमुख सत्तारुढ दल कांग्रेसले चैत्र १५ गते मंगलबार आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । हिजो बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।

माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे केन्द्रबाटै निर्णय लिने भएपनि कांग्रेसले भने महानगरबाहेक स्थानीय आवश्यकताअनुसार स्थानीय कमिटीलाई निर्णय गर्न दिने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !