रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् ।
अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे ।
प्रेस चौतारी रुपन्देहीले बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गरे ।
पौडेलले समृद्धि, विकास र सामाजिक न्यायका लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आमसञ्चार माध्यममार्फत जनतामा ल्याउन सञ्चारकर्मीलाई आग्रह गरे ।