३१ भाद्र २०८१, सोमबार

भाषणले मात्रै विकास हुँदैन : नेता सिंह


प्रकाशमान सिंह

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै काम गर्नेलाई प्रोत्साहित गर्दै भाषण कम विकासमा बढी काम गर्नुपर्ने बताए ।

“नेपाली समाजलाई भाषण र उखान, टुक्का मनपर्ने बनाइयो, यस्तो गर्नुहुन्न, भाषण कम, काम बढी गर्नुपर्छ अनिमात्रै विकासले गति लिन्छ”, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने । उनले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्नेमा त्यसो नभइरहेको गुनासो दोहोर्याए । “सबै क्षेत्रमा राजनीति पनि गर्नु हुँदैन, उद्योगलाई पनि प्रोत्साहन गर्दैै विकासलाई सबै दलले प्राथमिकता दिनुपर्छ”, उनले भने ।

नेता सिंहले विकासका सवालमा कसैलाई दोष लगाएर पन्छिने नगर्न आग्रह गरे । “प्रजातान्त्रिक संस्कार विकसित गर्दै विकासमा कांगे्रस–कम्युनिष्ट भन्नु हुँदैन, सबै मिलेर देश बनाउने हो”, उनले भने । अधिकार प्राप्तका सवालमा सबै मिलेजस्तै विकासे अभियानमा प्रस्पिर्धा गर्न उनले सुझाए ।

नेता सिंहले शिक्षा क्षेत्र पार्टी विशेष नहुने बताउँदै नेपालमा उत्पादित दक्ष जनशक्ति स्वदेशमै परिचालन गर्नुपर्ने बताए । उनले भने, “जमाना प्रविधिको छ, प्रविधियुक्त जनशक्तिले स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ ।” शैक्षिक संस्थाले शैक्षिक नीति र समयानुकूल पाठ्यक्रम विकासमा योगदान पुर्याउनुपर्ने उनको तर्क थियो ।

सो अवसरमा नेता सिंहले क्याम्पसमा स्थापना गरिएको विज्ञान प्रयोगशालको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदशेका महामन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउँदै राजनीतिमा युवाको आकर्षणले समाज परिवर्तनमा ठूलो योगदान पुगेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !