काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
आज शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न् ।
योसँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् । उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने पनि बताए ।