काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धर वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।
अध्यक्ष ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा उनी राजी भएकी हुन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी हुन् ।
यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्माले फेरि एकपटक पुन: पार्टी राजनीति शुरु गर्ने मनस्थिति बनाएकी हुन् ।
आज एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मिति समेत टुंग्याएकी हुन् । उनलाई केही दिनमै एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । बालकोट स्रोतका अनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश गर्नेछिन् ।
उनले आफू एक्लै टीका लगाएर प्रवेश नगर्ने बरु साथीहरूसहित प्रवेश गर्ने बताएपछि वैशाख ९ का लागि औपचारिक कार्यक्रम तय भएको हो । आज बिहीबार बालकोटमा भएको भेटमा एमाले नेताहरु नवराज सिलवाल, गंगा चौधरी लगायत पनि उनीसँगै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
पढ्नलाई कुनै उमेरको हदबन्दी छेक्दैन भनेर उनले सावित गरेर उनी पढ्ने इच्छा भएका तर स्कुल, कलेज जान नसकेकाहरुको लागि प्रेरणाको स्रोत समेत भएकी करिश्मा राजनीतिमा कत्तिको प्रेरणाको स्रोत हुन्छिन् त्यो त भविष्यले बताउला जसको लागि प्रतिक्षा नै गर्नुपर्ने हुन्छ ।