१२ आश्विन २०८१, शनिबार

प्रचण्डले श्रेष्ठसंग भने- एमसीसीमा मतभेद भएपनि अरु कुरामा मिलौं


प्रचण्ड र नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार पूर्वउपप्रधानमन्त्री समेत रहेका पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न श्रेष्ठ निवास हात्तीवन पुगेका थिए ।

व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभावाट अनुमोदन गर्ने पार्टी लाइनको विपक्षमा रहेका श्रेष्ठसहित पूर्व एकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका हुन् ।

संसदवाट एमसिसी सम्झौता अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न हिजो सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई एमसीसीलाई लिएर भावुक नबन्न आग्रह गर्दै वामदेव गौतमबाट पाठ सिक्नुपर्ने चेतावनी दिएका थिए ।

प्रचण्डले कसैले महाकाली सन्धिपछि नेकपा एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजे आफूले रोक्न नसक्ने समेत उनले बताएका थिए । प्रचण्डले कोही नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुन सक्ने सांकेतिक अभिव्यक्ति दिएका थिए ।

महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर विगतमा वामदेव गौतमले एमालेको करिव आधा केन्द्रीय नेताहरु लिएर नेकपा माले बनाएतापनि चुनावमा एक सिट पनि जित्न नसकेको भन्दै प्रचण्डले कोही भावनामा आउन जरुरी नभएको भन्दै आफूले केन्द्रीय समितिमा आफ्नो विचार राख्न आग्रह गरेको बताएका थिए ।

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेकोमा नेता श्रेष्ठ असन्तुष्ट भएपनि पार्टीमा भएको छलफलका क्रममा आफ्नो विचार केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न, तर अहिले बाहिर नलैजान आग्रह गरेतापनि नेता श्रेष्ठले सामाजिक संजालमा आफ्नो बिरोधमा लेखेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

हिजो प्रचण्डले नेता श्रेष्ठलाई ‘पार्टी छोडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएर श्रेष्ठ पक्षधरहरुको आक्रोश चुलिँदै‌ गएपछि आज मंगलबार प्रचण्ड नेता श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए ।

प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका हुन् । प्रचण्डले एमसीसीका विषयमा आफहरुबीच उत्पन्न भएको फरक दृष्टिकोणलाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।

जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका थिए । श्रेष्ठले आफूले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर प्रचण्डको हिजो सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिएका थिए ।

एमसीसी पारित भएपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेका थिए । उनीहरूले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा अब बसिराख्नुको औचित्य नभएको भन्ने कुरा श्रेष्ठसमक्ष राखेका थिए । अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।

संसदवाट एमसीसी अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र स्पष्ट रुपमा दुई धार देखिएको छ । व्याख्यात्मक घोषणामार्फत संसदवाट एमसीसी अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेका प्रचण्डको एक धार र एमसीसी पारित गर्न नहुने पक्षमा अडान राख्दै आएका नेता श्रेष्ठको अर्को धारबीच तीब्र विवाद उत्पन्न भएको हो ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ । एमसीसीको विषयलाई लिएर नेता श्रेष्ठले आक्रामक रुपमा विरोध उत्रिदै आएका छन् ।

एमसिसी संसदवाट अनुमोदन भएपछि नेता श्रेष्ठले व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेकोमा आम देशभक्त नेपाली जनताले कालो दिनको रुपमा लिने टिप्पणी गरेका थिए । उनले सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं भनेर आब्हान समेत गरेका थिए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति यसअघि नै माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका थिए । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए । नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

संसदमा एमसीसी पारित सांसदहरु गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए भने नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए । पूर्व एकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए ।

यस्तै युवा नेता लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने निर्णय अवैधानिक भएको र प्रचण्डको मात्रै निर्णय भएको बताएका छन् भने अर्का केन्द्रीय सदस्य जीवन गौतमले एमसीसी पारित गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता श्रेष्ठले ५ दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने जानकारी गराएको निर्णयप्रति उनले गम्भीर असहमति र आपत्ति रहेको जनाएका थिए । उनले केही दिनअघि पार्टीको छलफलमा आफू लगायत केही नेताहरुले मतभेद राखी सकेकोले यो महाधिवेशनको बिरुद्ध र गलत भएको धारणा व्यक्त गरेका थिए ।

गत फागुन ४ गते बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरेका थिए । माओवादी केन्द्रका नेता श्रेष्ठ पनि एमसिसीको विरोधमा प्रदर्शन गर्न सडकमा निस्किएका थिए । माओवादीभित्र श्रेष्ठले एमसिसी परियोजनाको विरोध गर्दै आएका थिए ।

एमसीसीका सन्दर्भमा त प्रचण्डले विभिन्न ‘अवतार’ देखाएको भनेर मेडिया व्यापक चर्चा समेत भएको छ । एमसीसी संसद्मा लैजान बिहान सत्ता गठबन्धनमा सहमति जनाएको क्षणभरमै प्रमुख सचेतकमार्फत असहमति जनाउन लगाएका थिए । पार्टीका अर्थमन्त्री जनार्दन शर्मालाई संसद्मा अनुपस्थित गराएर सम्झौता टेबल भएपछि पनि पारित गर्न नदिने’ धारणा सार्वजनिक गरेर फेरि ‘भ्रम’ फिंजाएका थिए ।

प्रचण्डले एकै दिन गराएका यी घटनाक्रम कुन ‘ओरिजिनल र कुन डुब्लिकेट’ थिए भन्ने छुट्याउनै कठिन भएको थियो । तर उनले अन्तिममा आएर एमसीसी संसदवाट अनुमोदन गराएरै छोडेका छन् । संसदवाट एमसीसी अनुमोदन हुनु भन्दाअघि प्रचण्डले गठबन्धनमा ओके र बाहिर विरोध गरेको भनेर उनको चर्को आलोचना समेत भएको थियो ।

केहि दिनअघि मात्र प्रचण्डले प्रतिक्रियावादीहरू घेरा हालेर सखाप पार्न लागेकोले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक बताएका थिए । आम नेपाली जनता र राजनीतिक पार्टीहरुलाई झुक्याउदै एमसीसीमा हस्ताक्षर गरेपनि गरेको छैन भनेर विगतमा अभिव्यक्ति दिएकोले प्रचण्डको रुवाबासी र हारगुहार शुरु भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई पत्र पठाएको खुलासा भएपछि प्रचण्ड तनावमा थिए । देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको थियो । देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

प्रचण्डले एमसीसीसँगको सम्झौतालाई लिएर खेलेको दोहोरो आपत्तिजनक भूमिका भएको भनेर स्वयं पार्टीका नेताहरुले र सामाजिक संजालमा उनको आलोचना गर्न शुरु भएको थियो । एमसीसीलाई पत्र लेख्ने तर लेखेको छैन भनेर बाहिर मिथ्या भाषण गर्दै हिडेकोले उनको फेरि पतनको दिन शुरु भएको अनुमान गर्न थालिएको छ ।

प्रचण्डको यस्तो दुई जिब्रे प्रवृतिले उनको व्यक्तिगत छवि त गिर्यो नै तर देशकै अन्तर्राष्ट्रिय गरिमा र विश्वसनीयतामा समेत प्रश्नचिन्ह खडा भएको थियो । भूतपूर्व प्रधानमन्त्री समेत भएको जिम्मेवार पार्टीको अध्यक्षले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्नु आपत्तिजनक थियो ।

नेपालीमा एउटा उखान छ, ‘दु:ख पाइस मंगले, आफ्नै ढंगले’ भनेझैँ आफ्नै द्वैध चरित्रले वर्तमान अवस्थामा आलोचनाको शिकार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रवृतिलाई यो उखानसंग तुलना गर्न सकिन्छ ।

राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।

यी विभिन्न घटनाक्रमलाई केलाउदा प्रचण्डको लोकप्रियताको ग्राफ दिन-प्रतिदिन घट्दो क्रममा छ भने नेता श्रेष्ठले लिएको अडानलाई लिएर उनको लोकप्रियताको ग्राफ पार्टीमा दिन-प्रतिदिन बढ्दो क्रममा छ । एमसीसीको विषयलाई लिएर नारायणकाजी श्रेष्ठलाई माओवादीमा प्रचण्डको स्थान लिन सक्ने चट्टान झैँ अडान भएको राष्ट्रवादी नेताको रुपमा चित्रण हुन थालेको छ ।

‘मुखै बैगुनी’ भनेझैँ प्रचण्डको बोलीको ठेगान नभएर उनले यअघिदेखि नै धेरै आलोचनाको शिकार हुँदै आएका छन् । तर प्रचण्ड नेपालको डायनामिक र करेजमेटिक लिडर हुन भन्नुमा दुईमत छैन । नेपाली राजनीतिमा क्रमभंग गर्दै प्रचण्ड राजनीतिको कोर्स करेक्शन गर्न माहिर छन् । आफ्नै बोलीले गर्दा पार्टी संकटमा परेपछि प्रचण्ड नारायणकाजीलाई फकाउदै छन् । एमसीसीको विषयलाई लिएर माओवादीमा जबर्जस्त दोस्रो धारको जन्म भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !