८ मंसिर २०८१, शनिबार

काँग्रेस र एमाले वार्ता निष्कर्षबिहीन : एमालेद्वारा संसदको ‘द्वार’ खुलाउन आग्रह


काँग्रेस र एमालेका नेताहरुबीच बालकोटमा

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का दोस्रो तहका नेताहरुबीच भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आज शनिबार साँझ भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि बिनानिष्कर्ष टुंगिएको हो ।

आज भएको छलफलमा कांग्रेसको तर्फवाट पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमालेको तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल महासचीव शंकर पोखरेल र उपमहासचीव विष्णु रिमाल लगायत सहभागी थिए ।

छलफलमा कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतिका साथ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन र प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि आग्रह गरेका थिए भने एमाले नेताहरूले भने पुरानै अडान दोहोर्‍याएको वार्तामा सहभागी सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

एमालेले संसद्मा अवरोध नगर्नका लागि पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने वा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएको छ ।हिजो भएको छलफलमा पनि एमालेले उक्त अडान राखेको थियो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि बालकोट पुगेको भनिए पनि उनी नआएको ओलीको सचिवालयले जानकारी दिएको छ । ओली निवासमै छलफल भएपनि उनी भने सहभागी नभएपछि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !