२ जेष्ठ २०८१, बुधबार

काँग्रेस र एमालेका नेताहरुबीच बालकोटमा निर्णायक छलफल शुरु


काँग्रेस र एमालेका नेताहरुबीच बालकोटमा

भक्तपुर । प्रमुख सतारुध दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कानेताहरुबीच आज निर्णायक छलफल शुरु भएको छ । केही समयअघि मात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा छलफल शुरु भएको हो ।

यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । हिजो शुक्रबार राती अबेरसम्म छलफल गरेका उनीहरूबीच आज पुन: छलफल शुरु भएको हो । एमसीसी अनुमोदन लगायतका विषयमा शुक्रबार अबेर रातसम्म भएको छलफल सहमति नजिक पुगेकोले सो सहमतिलाई निर्णयक बनाउन काँग्रेस र एमालेका नेताहरुबीच भेटवार्ता शुरु भएको हो ।

आज शुरु भएको छलफलमा कांग्रेसको तर्फवाट पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका छन् भने एमालेको तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल  महासचीव शंकर पोखरेल र उपमहासचीव विष्णु रिमाल लगायत सहभागी छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि बालकोट पुगेको भनिए पनि उनी नआएको ओलीको सचिवालयले जानकारी दिएको छ । ओली निवासमै छलफल भएपनि उनी भने सहभागी नभएपछि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।

सरकारले गत फागुन ८ गते नै प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गरिसकेको छ । प्रतिनिधिसभा बैठक भोलि आइतबार पुनः बस्दैछ । बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्ने कार्यसूची तय भएको छ ।

एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमै तीव्र मतभेद देखिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेको साथ खोज्दै सहकार्यको प्रयासमा लागेका हुन् । कांग्रेस-एमाले सहकार्यको बाटो खोज्न नेताहरू निरन्तर संवादमा रहेका छन् ।

ओली निवास बलकोटमा हिजो साँझ भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले र अध्यक्ष ओलीसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राख्नुका साथै प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा बृहत छलफल भएको थियो ।

देउवाले ओलीलाई अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका थिए भने जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको उनले जानकारी दिएका थिए ।

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए भने प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

छलफलपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर सो भन्दा अघि आफूहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको र छलफल गर्दै अघि बढ्ने सहमति भएको उनले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !