२३ पुस २०८१, मंगलबार

एमसीसी अनुमोदन गर्न देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार


शेरबहादुर देउवा र केपी शर्मा ओली बालुवाटार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदवाट अनुमोदन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

आज मंगलबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले आफूलाई सत्तारूढ गठबन्धनभित्रबाटै संसदमा टेबल भएको एसमीसी पारितका लागि असहयोग भएको भन्दै सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए ।

जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएका थिए । उनले आफूहरूले विगत ६ महिनादेखि सदनमा जायज मागहरु राखी आवाज उठाएपनि सरकारले बेवास्ता गरेको बताएका थिए ।

ओलीले ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए । ‘निल्नु न ओकल्नु’ भनेझैँ प्रधानमन्त्री देउवालाई संसदमा टेवुल गरेको एमसीसी पास गर्न ‘भालुको कम्पट’ जस्तै भएको छ ।

एमालेले सूर्य चिह्नबाट निर्वाचित माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्ने माग राख्दै आएको छ वा सभामुख अग्नि प्रसाद सापकोटाले राजीनामा दिनुपर्ने एमालेले माग दोहोर्याएको छ ।

भेटवार्ताामा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाल सहभागी थिए । यस्तै काँग्रेसतर्फ उपसभापति पूर्णबहादुर खड्का लगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच फाल्गुन ५ गते बिहिबार ओली निवास बालकोटमा करिब डेढ घण्टा छलफल भएको थियो ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदवाट पास गर्ने वारेमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागिरहेका छन् । सत्ता गठबन्धनका रहेका दुई दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा रहेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताउदै आएको छ ।

यसअघि यही फागुन ६ गते बिहीबार ओलीको निवास बालकोटमा श्रीमती डा. आरजु देउवाका साथ प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको थियो । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सक्रियताका साथ लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !