१२ असार २०८१, बुधबार

माओवादी सरकारमा बस्दैन, राष्ट्रघातमा संलग्न हुँदैन : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादी केंन्द्र सरकारमा नबस्ने र राष्ट्रघातमा पनि संलग्न नहुने स्पष्ट पारेका छन् ।

एमसीसी संसदमा टेबल भएपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णय अनुसार अव आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पारेका हुन् । संसदमा सो सम्झौता टेबल गरेर सरकारले लोकतन्त्रकै उपहास गरेको उनले आरोप समेत लगाएका छन् ।

संसदमा पेश गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने उनले बताए । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोड्ने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान समेत राखेका हुन् ।

नेता श्रेष्ठले एमसीसी जस्तो नेपाललाई दूरगामी असर पुर्‍याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिङ्गो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध पारिरहेको बेला संसदमा टेबल गरेकोमा आपत्ति समेत प्रकट गरे ।

यसका साथै उनले सामाजिक संजालमा एमसीसी कम्प्याक्ट सम्झौता स्विकार गर्नु वा संसदबाट अनुमोदन गर्नु सिधा राष्ट्रघात भएको लेखेका छन् । प्रत्यक्ष वा घुमाएर यसलाई पारित गर्ने वा पारित गर्न खोज्ने काम जो कसैले गरेपनि देशभक्तहरु त्यसको बिरुध्द दृढतापुर्वक उभिनु पर्ने समेत उनले बताएका छन् ।

उनले एमसीसी संसदमा पेश हुनुअघि सामाजिक संजालमा आजै अर्को स्टाट्स लेखका थिए, ‘अहिलेसम्म बैदेशिक सहायता सम्बन्धी कुनै पनि सम्झौता नेपालको संसदमा पेश नगरिएको अवस्थामा एमसिसि कम्प्याक्ट सम्झौता मात्र किन संसदमा पेश गर्ने र आगामी दिनमा अरु दातृ निकाय वा दातृ राष्ट्रले त्यस्तै माग गरेमा के गर्ने भन्ने सम्बन्धमा कुनै सहमति नबनिसकेको अवस्थामा र अझ मुख्यतः प्रमुख प्रतिपक्षद्वारा संसद अबरोधको स्थितिमा कुनै पनि सामान्य बिधेयक वा प्रस्ताव समेत संसदमा पेश नभई रहेको अवस्थामा दुरगामी महत्वको राष्ट्रियता सँग सम्बन्धित एमसिसि कम्प्याक्ट सम्झौता संसद अवरोध जारी रहेकै अवस्थामा संसदमा निर्णय प्रक्रियामा लैजाने गरी अघि बढाउन कसरी मिल्छ ? स्वतन्त्र वातावरणमा गम्भीर छलफल बहस बिना निर्णय प्रक्रियामा लगिनु लोकनत्रको उपहास मात्र हुन्छ । प्रम र नेकाको यो बलजफ्तिलाई राष्ट्रघातको निम्ति लोकतन्त्रको नाङ्गो उपहास बाहेक अरु के भन्न सकिन्छ र ?’

यस्तै उनले एमसीसी संसदमा पेश हुनुअघि सामाजिक संजालमा आजै अर्को स्टाट्स लेखका थिए, ‘हाम्रा पुर्खाहरुले संसारमा साम्राज्यवाद र उपनिवेशवादको जगजगी भएको र हाम्रा सबैजसो छिमेकीहरु उपनिवेश बनेको अवस्थामा पनि हाम्रो भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्नुभयो । त्यसैले आज हामी कहिले कसैको प्रत्यक्ष उपनिवेश नबनेको सार्वभौमसत्तासम्पन्न मुलुकको जनता हुन पाएकोमा गौरवान्वित अवस्थामा छौं । तर हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता माथि यतिबेला गम्भीर चुनौति र संकट उत्पन्न भएको छ ।सम्पुर्ण देशभक्त शक्तिहरु एक्जुट होऔं र राष्ट्रिय सार्भौमिकता ,स्वाधीनता र हितको रक्षा गरौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !