काठमाडौँ । अन्तत: नेपाल सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) टेवुल गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नारावाजीबीच एमसीसी संसदमा पेश भएको हो । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमाेर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबजी गरेका छन् ।
एमसीसी संसदमा टेवुल गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन नसकिरहेकोले यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको बताएका छन् । उनले राष्ट्रिय महत्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकुलता सिर्जना गरेको भनेर उनले एमालेप्रति संकेत गरेका छन् ।
उनले दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको बताए ।
उनले सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिलका साथ कार्यसूचीलाई अगाडि बढाउन सहयोग हुने आशा एवम् विश्वास व्यक्त गरे ।
यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी टेबल गर्ने निर्णय भएको थियो ।
एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै २०७६ असार ३० गते संसद सचिवालयमा दर्ता गराएका थिए ।