२३ भाद्र २०८१, आइतबार

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : रामशरण महत


Ramsharan Mahat

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा आफ्ना धारणा राखेका छन् ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि बसेको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पत्रकारहरुलाई जानकारी दिए ।

बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता डा. महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा भने, “एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।”

उनले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए । उनले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि बताए । साथै उनले बैठकमा एमसिसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराए ।

नेता डा. महतले एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताए । उनले एमसिसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसिसी कार्यालयलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिए ।

नेता महतले आफ्नो भनाइ राखेपछि बोल्ने सांसदहरुले पनि एसिसीको पक्षमा धारणा राखेको जानकारी पत्रकारहरलाई दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !