१८ असार २०८१, मंगलबार

अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्री ओली मधेश जाने


केपी शर्मा ओली

४ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार मधेश जाने भएको छ ।

विद्यालय भर्ना अभियान अन्तर्गत एक अभिभावकको भूमिका निर्वाह गर्न उनी मधेश जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मा.वि.मा विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री ओली बुधबार सिहरा जानेछन् । प्रधानमन्त्री ओलीले कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै विद्यालय भर्ना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले ती दुईजनालाई न्युनतम आठ कक्षासम्म पढाउनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी लिएको बताइएको छ ।

त्यस अवसरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन सिरहाका प्रमुखले पनि अभिभावकत्व लिने कार्यक्रम छ । सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानलाई अगाडि बढाउन प्रधानमन्त्री सिरहा जान लागेका हुन् ।

यसअघि कर्णालीका बालबालिकाको पनि प्रधानमन्त्रीले अभिभावकत्व लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !