१९ असार २०८१, बुधबार

काँग्रेसको महामन्त्री पदमा पराजित महतले बाजी मारे पार्टीको प्रवक्ता


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित डा. प्रकाशशरण महतलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको प्रवक्ता नियुक्त गरेका छन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेर पराजित भएका थिए । काँग्रेस महामन्त्रीमा डा. शेखर कोइराला प्यानलवाट गगन थापा र प्रकाशमान सिंहको प्यानलवाट विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए ।

महामन्त्रीमा निर्वाचित शर्मा पार्टीको प्रवक्ता हुँदा उनले काँग्रेसलाई सूचना तथा प्रविधिको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुका साथै सामाजिक संजालमा काँग्रेसका सूचना चुस्त र दुरुस्त दिनेमा पहिलेको तुलनामा तीब्रता दिने महत्वपूर्ण योगदान दिएका थिए ।

काँग्रेस प्रवक्ता बन्नमा देउवाका विश्वासपात्र मानिएका डा. महत, रमेश लेखक र एनपी साउद दौडमा थिए । देउवाले लेखकलाई पार्टीको प्रवक्ता बनाउने प्रवल सम्भावना रहेतापनि अन्तिममा महतले बाजी मारेका हुन् ।

कांग्रेसको विधानअनुसार प्रवक्ता मनोनित गर्ने सभापतिको अधिकार भएपनि महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा नरुचाएको व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको मतलाई बेवास्ता गरेको आरोप सभापति देउवासामू लागेको छ ।

लेखकलाई प्रवक्ता बनाउने आश्वासन दिएर देउवाले लेखकलाई पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्र उठाएका थिए । महतले आफूलाई पार्टीको प्रवक्ता बनाउन देउवामाथि चर्को दबाव दिएपछि गलेर देउवाले लेखकलाई प्रवक्ता नबनाई महतलाई बनाएको काँग्रेसको देउवानिकट उच्च स्रोतले बताएको छ ।

व्यक्तिगत रुपमा पत्रकार र कार्यकताको नजरमा लेखक महत भन्दा बढी भद्र र सामाजिक व्यक्तिको रुपमा मनिएतापनि लेखकलाई पछि पर्दै महत पार्टी प्रवक्ता बनेका छन् । महत पार्टीको धारणा सार्वजनिक गर्न र संचारकर्मीसँग समदूरी कायम गरी गर्न कत्तिको सक्षम हुन्छन्, त्यो त हेर्न बाँकी छ, जुन भविष्यले बताउला ।

यसअघि कांग्रेस प्रवक्ता रहेका विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि उक्त प्रवक्ताको पद रिक्त रहेको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उनलाई प्रवक्तामा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।

सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उनलाई मनोनयन गरी उनको कार्य सफलताको कामना पनि गरेका छन् । महतले यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !