१२ असार २०८१, बुधबार

प्रचण्डप्रति बाबुरामको व्यंग : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

प्रचण्डको प्रवृति भित्र खाओवाद बाहिर माओवाद : डा. बाबुराम भट्टराई


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग प्रहार गर्दै भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै भट्टराईले प्रचण्डलाई थप व्यंग प्रहार गर्दै माछा देखेभित्र हात, सर्प देखे बाहिर हात र भित्र खाओवाद बाहिर माओवाद भनेर प्रचण्डको प्रवृतिप्रति भण्डाफोर पनि गरेका छन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि प्रचण्डलाई लक्षित भट्टराईको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

डा. भट्टराईले प्रचण्डलाई इङ्गित गर्दै नेपाली राजनीति जबसम्म यस्तो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैन भनेर ठोकुवा गरेका छन् । भट्टराईले एमसीसी जुन ढंगले गिजोलिँदै गएको छ त्यसको परिणाम गम्भीर हुने पनि संकेत गर्दै अति भए खति हुन्छ भनेर लेखेका छन् ।

भट्टराईले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै बन्दैन । MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ !’ अति भए खति हुन्छ है !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !