२३ भाद्र २०८१, आइतबार

काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्दै


सुजाता कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने भएकी छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउने लगभग निश्चित जस्तै भएको हो ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका रिक्त दुई उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन लागेका हुन् । रातारात कुनै चमत्कार भएन भने प्रधानमन्त्री देउवाले कोइरालालाई रक्षा मन्त्रालय दिने प्रवल सम्भावना रहेको बुझिएको छ ।

दुई मन्त्री नियुक्त गर्न देउवाले आज बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको पनि बुझिएको छ । तर नेतृ कोइराला बाहेक अर्को मन्त्री कसलाई बनाउने भन्ने बारेमा आकांक्षी धेरै भएकोले प्रधानमन्त्री देउवा अझसम्म निष्कर्षमा पुगिसकेका छैनन् ।

निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा नयाँ मन्त्री बनाउन तातेका हुन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् ।

सुजाताले रामचन्द्र पौडेल र शशांक कोइरालाको गुट छोडेर प्रकाशमान सिंहलाई सभापतिमा सहयोग गरेकी थिइन् । कोइराला परिवारमै फुट आएर सुजाता प्रकाशमान प्यानलको उपसभापति उम्मेदवार बनेकी थिइन् ।

कोइराला परिवारका डा. शेखर कोइराला समेत सभापतिका उम्मेद्वार हुँदाहुँदै कोइराला सिंहको प्यानलमा पुगेकी थिइन् । संस्थापनइतर समूहमा विभक्त भई प्रकाशमान सभापतिमा उठाएर कोइराला परिवारको पुरानो बिरासतलाई फुटेकोले ‘भाई फुटे, गवार लुटे’ भनेझैँ संस्थापनइतर समूहवाट साझा उम्मेदवार दिन नसकेकोले सभापतिमा देउवाले नै बाजी मारेका थिए ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहको गुन तिर्न उनको गुटकी कोइरालालाई मन्त्री बनाउने भएका हुन् । काँग्रेस सभापतिमा निर्वाचित हुन धर्मसंकट परेका बेला साथ दिएका सिंहलाई प्रधानमन्त्री देउवाले यसअघि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने तयारी गरेको पनि हल्ला चलेको थियो ।

काँग्रेस सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार बनेका सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापतिमा सहयोग गरेका थिए । देउवाले आफूलाई संकट परेको बेला सभापतिमा समर्थन गरेर संकटमोचन गरेका सिंहको गुटलाई महत्वपूर्ण जिम्मेवारी दिनेमा देउवा सकारात्मक देखिएका हुन् ।

तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रीविहीन बनेका दुई मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !