१३ बैशाख २०८१, बिहिबार

सभामुखमाथि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी


अग्निप्रसाद सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले ईतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो । शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ । नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको थियो, विकास निर्माणका काम अहिलेपनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपँक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन्।’

उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । उनले भने–‘एमाले यतिवेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभी/पापीहरुको झुण्ड हो । केपी ओलीको नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको अभियान तिव्र रुपमा अघि बढिरहेको थियो, तर अहिलेको सरकार आएपछि अर्थतन्त्र धरायशी भएको छ । जताततै खिचलो भएको छ । संकटको घडीमा पनि ओली सरकारले राम्रो काम गरेको थियो । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । जनता अत्यन्तै निराश छन् ।’

उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने,‘हामी विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौं । एमाले भनेको पूरानो होईन, नेकपापछिको एमाले हो । अहिलेको एमाले परिमार्जित नेकपा हो । एमाले नेकपाकै निरन्तरतामा छ । हामी पनि त्यहाँ छौं । हामी पार्टी एकताकै निरन्तरतामा छौं ।’

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।’ उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

उनले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाए । उनले भने,‘स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नैपर्छ नि, कानून र संविधान मान्ने हो भने निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् । तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्छ । उनीहरुले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन् थिए नि । हार्ने मनस्थिति देखेरनै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेका थिए । संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’

उनले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए । उनले भने,‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस, अनि को हुन्छ पत्तासाफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?’

उनले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेको छैन् । हामीलाई चाहिएको छ–चुनाव । हामी चुनाव चाहन्छौं ।’

उनले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए । उनले भने,‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस ।’

रायमाझीले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए । उनले भने–‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो। इसको लागि ट्रान्समिसन लाईन चाहिन्छ। यो बनाएनौं भने नेपालमा उत्पादित विजुली खपत हुँदैन् । यो लस हुन्छ। ट्रान्समिसन लाईन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !