काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक विहान ९ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो भएको भेटवार्ताले आजका लागि उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आजका लागि तय गरेको थियो ।
बैठकमा आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका सत्ता साझेदार दलहरूले थप रणनीति बनाउने बुझिएको छ । यस्तै बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा लगायत विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।
यसका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नियमित संसद अवरुद्ध गर्दै आएकोले कसरी अघि बढ्ने भन्ने बारेमा पनि रणनीति बनाउनुका साथै कोरोना महामारी रोकथाम र नियन्त्रण गर्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।
११ जना सदस्य रहेको सत्ता गठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा प्रधानमन्त्री पनि बैठकमा उपस्थित हुने गर्छन् । समन्वय समिति कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् ।