१५ असार २०८१, शनिबार

उदयपुरवाट विप्लवका २ कार्यकर्ता पक्राउ


crimes

२९ चैत, उदयपुर । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुर जिल्लाका २ कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार विहान त्रियुगा नगरपालिका ११ का जनक श्रेष्ठ र बेलका नगरपालिका ४ रामपुरका पूर्ण तामाङलाई पक्राउ गरेर सोधपुछ थालेको जनाएको छ । ४३ वर्षीय श्रेष्ठलाई गाईघाट बजारबाट र ४६ वर्षीय तामाङलाई बेलका ४ स्थित घरैबाट पक्राउ गरी सोधपुछका लागि प्रहरी हिरासतमा राखेको छ ।

अघिल्लो साँझ एक बालक गम्भीर घाइते हुनेगरी शक्तिशाली बम विष्फोट भएको घट्नालाई लिएर सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना जिल्ला कमिटी सदस्य भएको बताइएको छ ।

बुधबार साँझ त्रियुगा नगरपालिका १३ तरकारी बजारस्थित सार्वजनिक शौचालय पछाडी त्रियुगा–थरुहट रंगशालामा विष्फोट हुँदा सोही वडाका १४ वर्षीय पारस राई गम्भीर घाइते भएका थिए। बम विष्फोटलगत्तै चारैतिर प्रहरी, सशस्त्र र सेना परिचालन गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले उनीहरुलाई दोषी किटानी गरेर नभई बम विष्फोटमा संलग्न हुनसक्ने आशंकामा सोधपुछका लागि बोलाइएको बताए ।

‘अहिले बिभिन्न ठाउँका भइरहेका विष्फोटनका घट्नामा नेकपाका कार्यकर्ताको संलग्नता रहेको देखिदै आएको छ’ भट्टले भने ‘त्यसैले यसमा पनि उनीहरुको संलग्नता हुनसक्छ भनेर सोधपुछ गर्न मात्र बोलाइएको हो, मुद्धा अघि बढाईहालेको अवस्था छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !