६ जेष्ठ २०८१, आइतबार

सरकारी खर्चमा हुने विदेश भ्रमण रोके मन्त्री पण्डितले


lal babu pandit

२९ चैत, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालय मातहतका विभिन्न निकायवाट गरिने विदेश भ्रमणका कार्यक्रम रोकेका छन् ।

विभिन्न कार्यक्रमका नाममा गरिने विदेश भ्रमण कार्यविधि निर्माण नहुँदासम्मका लागि मन्त्री पण्डितले भ्रमण रोक गरेका हुन् । जसअन्तर्गत मन्त्री पण्डितले हाल पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विदेश भ्रमण रोक्का गरेका छन् ।

जसअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाको नगरपालिकाका कार्यकारी अधिकृतसहित पाँच जनाको अमेरिका भ्रमण, धुलीखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जुसहित दुई जनाको इण्डोनेसिया र मलेसियाको भ्रमण रोक्का गरेका हुन् ।

मन्त्री पण्डितले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडसहित चार जनाको ताइवान भ्रमण, भरतपुर महानगरपालिकाका १ प्रतिनिधिको थाइल्याण्ड भ्रमण र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण रोक्का गरेका छन् ।

समान्य प्रशासन मन्त्री पण्डितले विदेश भ्रमणका लागि मन्त्रालयले निर्माण गर्दै गरेको कार्यविधि निर्माण भएर लागु नहुदासम्म हालका लागि सम्पुर्ण विदेश भ्रमण रोक्का गरिएको बताएका छन् ।

उनले स्विजरल्याण्डको जेनेभामा हुने आफ्नो विदेश भ्रमण समेत स्थगित गरी माथहतका सबै निकायबाट हुने विदेश भ्रमण रोक्का गरेका हुन् । मन्त्री पण्डित सहित विभिन्न मन्त्रालयका प्रतिनिधि सम्मिलित ८ सदस्यीय टोली जातीय विभेद विरुद्धको अन्तराष्ट्रिय महासन्धी सम्बन्धी हरेक २/२ वर्षमा गरिने प्रगति प्रतिवेदन सम्बन्धी कार्यक्रममा पक्ष राष्ट्रका हिसाबले बैशाख १५ देखि १७ गतेसम्म हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।

विभिन्न कार्यक्रमका नाममा हुने विदेश भ्रमणमा स्थानीय स्रोतका नाममा जनताको पैसा खर्च भइरहेको भन्दै मन्त्री पण्डितले भ्रमण कार्यविधि नबन्दासम्म कुनै पनि विदेश भ्रमणका कार्यक्रम मन्त्रालयका तर्फबाट स्वीकृत नहुने बताए । ‘विदेश भ्रमणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।

कार्यविधि बनेपछि त्यसअनुसार विदेश भ्रमणलाई अगाडि बढाउछौँ’, उनले भने, ‘हालका लागि सबै विदेश भ्रमणका कार्यक्रम रोक्का गरिएको छ । जनताले उठाएको राजश्व अनावस्यक ठाउँमा खर्च हुने कुरामा हामी स्वीकृति दिँदैनौँ ।’

स्थानीय निकायका जनप्रतिनिधिहरू पनि केहीले विदेश भ्रमण गरिरहने र केहीले कहिले अवसर नपाउने अवस्थालाई ध्यानमा राखेर कार्यविधि बनाउने मन्त्रालयको तयारी छ ।-थाहा खबरवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !