काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गरेका छन्।
पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने पनि यसबाट आत्तिन भने जरुरी नरहेको बताएका छन् ।
उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।
“साढे चार वर्ष अघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं ।”, उनले भने।
अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको उनले आरोप लगाए। पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ थियो ।