१३ असार २०८१, बिहिबार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्‍नका लागि बैठक जारी रहेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुवीच भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन भएकाले सिट भागबण्डा गर्ने प्रयास जारी रहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

केही समय अघिदेखि सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु गठबन्धन बनाउने तयारीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !